तारा एयरको विमान दुर्घटना: धन्नै मोटरसाइकलले ज्यान बचायो -

9:01 PM 0 Comments






फाल्गुन १३, २०७२- मुस्ताङ नापी कार्यालयका प्रमुख खिमलाल गौतमले बुधबार दुर्घटनामा परेको तारा एयरको जहाजमा जोमसोम जान आफ्ना साथीभाइलाई टिकट बुकिङ गर्न भनेका थिए । कार्यालयको एउटा मोटरसाइकल सर्भिसिङका लागि पोखरा लगिएको थियो । एकाउन्टेन्ट सागर सुवेदीलाई उक्त मोटरसाइकल जोमसोम पुर्‍याउन भन्दा उनले नसक्ने बताए । त्यसपछि उनी टिकट बुकिङ रद्द गर्दै आफैं चलाएर मंगलबार जोमसोम पुगे ।
सुरुमा अप्ठ्यारो बाटोमा मोटरसाइकल चलाएर जाँदा घरपरिवारले गाली गरेका थिए । तर बुधबार बिहान सोही जहाज दुर्घटनामा परेको सुनेपछि परिवारका सदस्यले ठिकै गरेछस्, भगवान्ले बचाए भन्न थालेका उनले बताए । ‘मोटरसाइकलमा नफर्केको भए म पनि पर्नेरहेछु’ टेलिफोनमा गौतमले भने ।
अधुरै रहयो सार्वजनिक सुनुवाइ
मुस्ताङको मुक्तिनाथ गाविसमा आउँदो आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रम थियो, जसलाई सम्पन्न गराउन गाविस सचिव पोखराको फूलबारी निवासी मुक्तिनाथ बाँस्तोला हतारमा थिए । उनी बुधबार विमान दुर्घटनामा परेर दिवंगत हुनेमध्येका एक हुन् ।
आठ दिनअघि खरिदारबाट नायब सुब्बामा बढुवा भएका थिए उनी । कास्कीको सिन्दुल्जुरे गाविस सचिवबाट उनी मुस्ताङको मुक्तिनाथ गाविसमा गत भदौमा सरुवा भएका हुन् ।
छोरा किशोरका अनुसार नासुमा बढुवा भएको खुसी बाँड्न परिवार भेट्न गत सोमबार पोखरा आएका थिए । ‘गाविसको सार्वजनिक सुनुवाइ गर्नु छ भनेर हतारमा जानुभएको थियो,’ उनले भने । उनले बिहीबारका लागि टिकट खोजेका थिए, तर बुधबारकै पाइएपछि उनी हतारिए । गाविसको सार्वजनिक सुनुवाइका कार्यक्रम चलाउने पोखराका पत्रकार प्रकाश ढकालले भने, ‘मंगलबार मेरो भेट भएको थियो, उहाँले आइतबारका लागि जाउँ भनेर कर गर्नुभएको थियो । बिहीबार भए म सँगै जान्थें तर, टिकट मिलेन ।’
सरकारी सेवामा रहेका कर्मचारीलाई दुर्गममा काम गर्दा छिटै बढुवाको अवसर प्राप्त हुन्छ । बाँस्तोला यही बुझेर आफूलाई मुक्तिनाथ सरुवा गरिएकोमा खुसी थिए । लमजुङबाट मुखिया पदमा काम थालेका उनी कास्कीको सिन्दुल्जुरे आइपुग्दा खरिदार भए । मुस्ताङ गएपछि नासुमा बढुवा भए ।
बाँस्तोलाका भाइ टुबराजले मंगलबार हतारमा फिर्न लागेको थाहा पाएर सोधेका थिए । जवाफमा उनले गाविसको सार्वजनिक सुनुवाइ आफैं उपस्थित रहेर गराउनुपर्ने भएको बताएका थिए ।
अघिल्लो दिनको टिकट नपाउनु नै दुर्भाग्य
कास्की जिल्ला प्रशासनबाट गत कात्तिकमा मुस्ताङ सरुवा भएका रेवती बराल मंगलवार कार्यक्षेत्र फिर्न चाहन्थे । तर, टिकट मिल्यो बुधबारको । उनी फेरि आफ्नो पोखरा मासबार घर नआउने गरी बिदा भए ।
झन्डै डेढ महिना घरबिदामा बसेका सुब्बा तहका जागिरे बराल पनि आफू अधिकृतमा बढुवाका लागि दुर्गम जान पाउँदा खुसी थिए । दुई दशक सरकारी सेवामा बिताएका उनलाई अधिकृत हुने रहर थियो । भतिजा लक्ष्मण बरालले भने, ‘हिजो (मंगलबार) को टिकट नपाउनु नै दुर्भाग्य भयो ।’
रेवतीका श्रीमती, दुई छोरा छन् । घटनाको खबरपछि गाउँ नै शोकाकुल छ । नातामा भाइ पर्ने मुस्ताङ भूसंरक्षण कार्यालयका प्रमुख माधव बरालले भने, ‘अलि ढिला गरेको भए म पनि सँगै मुस्ताङ फर्कन्थेँ, उहाँ छिटै जानुभो ।’
घटनामा सरकारी सेवामा कार्यरत चार कर्मचारी, एक सैनिकसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुस्ताङ जिविसका पूर्वउपसभापति कृष्णलाल भट्टचनसँगै मुस्ताङका १० जना परेका छन् । यसअघिका हवाई दुर्घटनामा विदेशी पर्यटक र आन्तरिक पर्यटक बढी परेका थिए ।

रेडियो कान्तिपुर बाट
 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: