इन्काउन्टरले सातो लियो गुन्डाको, कुन गुन्डा के गर्दै
गत वर्ष दिनेश अधिकारी चरी इन्काउन्टरपछि नै गुन्डाहरूको सातो गएको थियो । केही समयपछि राजनीतिक आवरणमा फेरि सक्रिय हुन थालेका उनीहरू घैँटे मारिएपछि भने बेस्सरी तर्सिएका छन् । तैपनि टोले गुन्डाहरूले वेलावेला व्यवसायीलाई दु:ख दिँदै आएका छन् । त्यस्ता समूहलाई पनि पक्राउ गर्दै कारबाही हुँदै आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए । ‘सुरुमा पक्राउ गरेर कारबाही गर्दै आएका छौँ, छुटेपछि पनि सुध्रिएनन् भने प्रहरीले त्यही रूपमा एक्सन लिन्छ,’ एसएसपी थापाले भने । गुन्डागर्दीसम्बन्धी कानुन नभएकाले गुन्डाहरू पक्राउ परेलगत्तै छुट्ने गरेका छन् । अदालतले गुन्डाहरूलाई छाड्न थालेपछि प्रहरीले पनि गोली हान्न थालेको थियो ।
प्रहरीले आक्रामक कारबाही थालेपछि गुन्डागर्दीलाई व्यवसाय बनाएकाहरूले पेसा बदलेका छन् । गुन्डानाइकेमध्ये केही जेलमा छन् भने जेलबाहिर रहेकाहरू व्यवसाय र राजनीतिमा लागेका छन् । रमेश बाहुन भनिने सुजन पौडेल र अभिषेक गिरी जेलमा छन् । पौडेल लागुऔषध र हातहतियार मुद्दा तथा गिरी अपहरण मुद्दामा जेल परेका हुन् । धादिङका राधे भण्डारी, भक्तपुरका सगुन श्रेष्ठ, घैँटेकै समूहका साजन गुरुङ, राज तामाङ, पञ्चे तामाङलगायत जेलमा छन् । अर्का डन गणेश लामा अपहरण मुद्दामै फरार छन् । लेनदेन विवादमा लामाले ललितपुरका एक सर्वसाधारणलाई आफ्नो घरमा बन्धक बनाई कागज गराएको उजुरी परेपछि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । दीपक मनाङे ठमेल क्षेत्रकै व्यवसायमा छन् । चक्रपथ क्षेत्रका पुराना गुन्डानाइके चक्रे मिलन भनिने मिलन गुरुङको भने वेला–वेला उजुरी आउने गरेको छ । उनका सहयोगीहरूले स्थानीयलाई धम्क्याउने गरेका छन् । राजु गोर्खाली रेस्टुरेन्ट र अस्पतालको व्यवसायमा आबद्ध भएका छन् । ललितपुरका मीनकृष्ण महर्जन, समीर केसीलगायत पनि ठेक्कापट्टा र राजनीतिमा लागेका छन् । रोज राणा फिल्म क्षेत्रमा लागेका छन् । कलंकी क्षेत्रका विश्वक्रान्ति सिंह ६ महिनाअघि दरबारमार्गमा झगडा गर्दा पक्राउ परेका थिए । स्वयम्भूका बाघे, बालाजु क्षेत्रका माइला लामालगायत पनि प्रहरी निगरानीमा छन् । सामाखुसी क्षेत्रका साजन महर्जनलाई प्रहरीले तीन महिनाअघि पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको थियो । प्रहरीले पक्राउ गर्दा गोली नहान्न भन्दै उनी रोएका थिए । काभ्रेली समूहका दावा लामा लागुऔषध मुद्दामा सफाइ पाएर गत महिना छुटेका छन् । काभ्रेली समूह नै लागेर उनलाई छुटाएको थियो । लागुऔषध, ज्यान मार्ने उद्योग तथा अपहरणजस्ता मुद्दामा अदालतले उनलाई सफाइ दिएपछि प्रहरीसमेत चकित भएको थियो । काभ्रेली समूह राजनीतिक संरक्षणमा टेन्डरको गतिविधिमा सक्रिय रहेको सूचना प्रहरीसँग छ । विष्णु लामा, सञ्जीव स्याललगायत पनि खुलेर हिँड्न सकेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।-
0 comments: